Celebsathi

शुक्रबारबाट हल खुल्ने, रोकिएका फिल्म प्रदर्शन हुने

2020 Dec 23

शुक्रबारबाट हल खुल्ने, रोकिएका फिल्म प्रदर्शन हुने

काठमाडौं  । गत वर्षको चैत महिनायता दर्शक देख्न नपाएका नेपाली हलले अब भने दर्शक देख्न पाउने आशा गरेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमले सरकारले हलहरू बन्द गराएसँगै हालसम्म खोल्ने अनुमति दिएको छैन । तर सरकारको अनुमति कुर्न नसक्ने भन्दै हल सञ्चालकले आउँदो शुक्रबार (पुस १०) बाट हल खोल्ने तयारी गरिरहेका छन् ।

सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गतहप्ता नेपाल चलचित्र संघले पुस १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीले बताएका छन् । अहिले हल सञ्चालकहरू १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्न लागिएको हो । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदैछन् ।

तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका फिल्म पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रबारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताउनुभएको छ । मल्टीप्लेक्समा भने यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् । अन्य नयाँ फिल्म भने प्रदर्शन हुने छैनन् ।

समीक्षात्मक र व्यावसायिक दुवै रूपमा सफल ठहरिएको ‘आमा’ लाई दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो । फिल्ममा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ मा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्रीलगायतको अभिनय छ ।

प्रतिक्रिया