Celebsathi

ट्रेन्डिङका कुराः मौलिक दोहोरीमा दर्शक

2020 Dec 11

ट्रेन्डिङका कुराः मौलिक दोहोरीमा दर्शक

काठमाडौं । नेपालमा पछिल्लोसमय इन्टरनेट प्रयोगकर्ता बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जालमा युवाहरू दैनिक पाँच घण्टाभन्दा बढी समय निकै व्यतीत भएको डाटा छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमा फेसबुक, टिकटक र युट्युब अत्यधिक हेरिने एप्समा पर्दछन् ।

विशेषगरी युट्युबले ट्रेन्डिङको ‘सेक्सन’ राखेपछि युट्ुयुब ट्रेन्डिङको चर्चा हुने गरेको छ । नेपालमा दैनिक ट्रेन्डिङमा कुन भिडियो छ र कस्तो प्रकारको भिडियो ट्रेन्डिङमा आयो भन्ने चासो आम इन्टरनेट प्रयोगकर्तालाई छ । विशेषगरी युट्युबर तथा युट्युबमा गीतसंगीत सार्वजनिक गर्ने कलाकारहरू निकै ट्रेन्डिङको पछि लागिरहेको देखिन्छ । अधिकांश गीतसंगीत युट्युबको ट्रेन्डिङको अग्रस्थानमा ल्याउनकै लागि निर्माता तथा कलाकारले हजारौं खर्च गरेर ‘बुष्ट’ पनि गर्ने गरेको पाइन्छ ।

पछिल्लो केही दिनयताको नेपालको युट्युबको ट्रेन्डिङ हेर्ने हो भने नेपाली गीतसंगीत, चलचित्र तथा विदेशी चलचित्रनै हावी छन् । यस्तै युट्युबको ट्रेन्डिङमा नेपालमा पछिल्लो समय भइरहेका घटनाक्रम निकै देखिन्छन् ।

शनिबारको नेपालको युट्युब ट्रेन्डिङको १०औं स्थानसम्म ‘स्कोल’ गर्ने हो भने मिश्रित देखिन्छ । ट्रेन्डिङको पहिलो स्थानमा लाइभ दोहोरी छ । टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’मा प्रखर वक्ता रमेश प्रसाईं र गायिका कल्पना दाहालले गाएको १ घण्टा ६ मिनेट लामो दोहोरी गीत तीन दिनअघि सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको थियो ।

विशेषगरी रमेश प्रसाईं र कल्पनाले गाएको पहिलो दोहोरीको चर्चा दुवैजनाको प्रेम चर्चा पनि चलेको थियो । त्यसै कारणले यो जोडीलाई सामाजिक सञ्जालमा निकै रुचाइयो । पछि रमेशले आफ्न प्रेमीका नन्दा सिंहसँग बिहे गर्ने निधो गरेपछि रमेशलाई सामाजिक सञ्जालमा झनै खोजिन थाल्यो । यसैसमयमा रमेश र कल्पनाको दोहोरी ‘इन्द्रेणी डटकम’ युट्युबमा अपलोड गरिएपछि छोटो समयमै धेरै दर्शक पायो । उक्त भिडियो तीन दिनमा २१ लाख बढी पटक हेरिएको छ ।

यस्तै युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुत र अनिता चलाउनेको ‘फुटेको चुरा’ बोलको गीत छ । सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीत पाँच दिनअघि सार्वजनिक गरिएको छ । पाँच दिनमा यो गीतलाई १३ लाख पटक हेरिएको छ । यस्तै युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा लेकसाइड टिभी नामको युट्युब च्यानलबाट अपलोड गरिएको एक भिडियो छ । शीर्षकमा समाजमा अपाच्य खालका शब्द राखिएको छ । यस्तै युट्युब ट्रेन्डिङको चौथो स्थानमा युवाष्टार अनमोल केसी अभिनित नेपाली चलचित्र ‘क्याप्टेन’ रहेको छ । अपलोड गरिएको एक दिनमै १० लाख बढी पटक हेरिएको छ । दीवाकर भट्टराई निर्देशित सो चलचित्रमा मुख्य भूमिकामा युवाष्टार अनमोलसँगै उपासना सिंह ठकुरी हुनुहुन्छ । सुपर काजल फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गर्नु भएको हो । चलचित्रको कार्यकारी निर्माता जिया केसी हुनुहुन्छ । सो चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

चलचित्रमा अनमोल र उपासनासँगै प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, सूर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ ।

यस्तै युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा ‘कुटु कुटु’ बोलको गीत छ । नविन रावल र सरु गौतमको स्वर रहेको उक्त गीतको भिडियोमा कार्टुन क्रुको टिमले नृत्य गरेको छ । उक्त गीतको भिडियोलाई पनि १ सातामा १७ लाख बढी पटक हेरिएको छ । यस्तै युट्युब ट्रेन्डिङको छैटौं स्थानमा रमेश प्रसाईं र नन्दा सिंहको बिहेको विषयमा तयार पारिएको ‘न्यूज रिपोर्ट’ रहेको छ । आर्टिष्ट खबरले निर्माण गरेको उक्त भिडियोलाई पनि तीन दिनमै पाँच लाख बढी पटक हेरिएको छ । दुवैजना दृष्टिविहीन तर समाजसेवी भएकाले पनि दर्शकले थप चासो दिएर उक्त भिडियो हेरेको देखिन्छ ।

यस्तै युट्युब ट्रेन्डिङको सातौं स्थानमा हेर्नेहो भने पनि रमेश र नन्दाकै भिडियो छ । स्मार्ट टिभी नामक युट्युबबाट अपलोड गरिएको उक्त भिडियो दुई दिनमा २ लाख बढीपटक हेरिएको छ । यस्तै युट्युब ट्रेन्डिङको आठौं स्थानमा नेपाली चलचित्र ‘बादशाह जुट’ छ । बुढासुब्बा डिजिटलको युट्युबबाट अपलोड गरिएको उक्त भिडियो दुई दिनमा ५ लाखभन्दा बढी हेरिएको छ ।

यस्तै युट्युब ट्रेन्डिङको नवौं स्थानमा रामसार मिडियाबाट अपलोड गरिएको मेरी बास्सै हाँस्य टेलिसिरियलको पुरानो भाग छ । यस्तै युट्युब ट्रेन्डिङको दशौं स्थानमा बलिउडको ‘बेसरम बेवाफा’ गीत रहेको छ ।

अन्य देशको तुलनामा नेपालबाट युट्युबमा बढी पटक हेरिएको भिडियो नेपाली ट्रेन्डिङमा आउने गर्दछ । नेपालमा युट्युब ट्रेन्डिङमा विशेषगरी मौलिक भिडियो बढी आएको देखिन्छ । विशेषगरी लाइभ दोहोरीका शृंखलाहरू ट्रेन्डिङमा निकै आउने गरेका छन् ।

प्रतिक्रिया