Celebsathi

करोडौं लगानी, शून्य आम्दानी

2020 Dec 18

करोडौं लगानी, शून्य आम्दानी

झापा । बाह्रदशी गाउँपालिका–३ राजगढका चान महमदले पाँच करोड रुपैयाँभन्दा बढी लगानी गर्दै गत वर्षबाट एभरेष्ट डिजिटल सिनेमा हल सञ्चालनमा ल्याउनु भयो । लामो समयसम्म वैदेशिक रोजगारीमा रहनु भएको उहाँले आफ्नै ठाउँमा केही नवीन कार्य गर्ने सोचका साथ चलचित्र व्यवसायमा लगानी गर्दै २० जनाभन्दा धेरैलाई रोजगारी दिनुभयो ।

चलचित्र क्षेत्रमा लगानी गर्दाको विदेशी अनुभवसहित नेपाल फर्किनु भएको उहाँले आफ्नै ठाउँमा विश्वस्तरीय चलचित्र देखाउनेगरी उपकरण भिœयाएर र हल सञ्चालन गर्नुभयो । हल सञ्चालन गरेको केही महिलासम्म उहाँलाई आएका दर्शकलाई चलचित्र देखाउन भ्याइनभ्याइ भयो । बिहानदेखि राति अबेरसम्म दिनहुँ हाउसफुल हुने चलचित्र घर अहिले भने सुनसान छ ।

बाह्रदशी गाउँपालिका–३ राजगढका चानजस्तै विर्तामोडका युवा व्यवसायी मिजास पोखरेलले पनि विर्तामोडमा दुई वर्षअघि झण्डै ८ करोड रुपैयाँ लगानी गर्दै वान स्टप मलमा ‘क्युएफएक्स’ हल सञ्चालनमा ल्याउनु भयो । सुरुका केही महिना हलले राम्रै व्यापार ग¥यो । नेपाल चलचित्र संघका पूर्वकेन्द्रीय उपमहासचिव समेत रहनु भएका पोखरेलले झापामै पहिलोपटक ‘क्युएफएक्स’हल सञ्चालनमा ल्याएपछि नयाँ प्रविधिले दर्शकको मन त्यतै खिचेको थियो । तर, त्यो लामो समय टिक्न सकेन । कारण भइदियो कोरोना भाइरस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फिल्म हल पनि अछुतो रहेनन् । जसका कारण चलचित्र क्षेत्रमा लगानी गर्ने लगानीकर्ता, चलचित्र निर्माता, कलाकारदेखि हल सञ्चालकसम्म प्रभावित भए ।

गत वर्षको चैत महिना यता कोरोना महामारीकै कारण चलचित्र हल पूर्णरूपमा बन्द हुँदा निर्माता, कलाकार, सहसञ्चालक मात्र मारमा परेनन् कर्मचारीको रोजीरोटी नै गुम्यो । लामो समयसम्म चलचित्र क्षेत्रको कारोबार ठप्प हुँदा यसमा लगानी गर्ने व्यवसायीलाई बैंकको व्याज तिर्नसमेत हम्मे–हम्मे परेको नेपाल चलचित्र संघ १ नम्बर प्रदेश सभापति चैतन्य बरालले बताउनुभयो । झापामा दर्जनको हाराहारीमा चलचित्र हल छन्, तिनमा आश्रित कर्मचारीको रोजी रोटी त खोसियो नै हल सञ्चालकलाई बैंकको व्याज तिर्नसमेत धौ–धौ भएको छ । बरालका अनुसार एउटा फिल्म हलले कम्तीमा ४० जनालाई रोजगारी दिएको छ ।

झापामा सञ्चालनमा रहेका चलचित्र हलमा झण्डै ४ सयभन्दा बढी कर्मचारीको रोजीरोटी गुम्यो, हामी व्यवसायी त मारमा प¥यौं नै, हामीभन्दा माथिका र मुनिका सबैलाई कोरोनाको बढ्दो संक्रमणले थला बसायो । हाल झापाको विर्तामोडमा कृष्ण, पाथीभरा र क्युएफएक्स गरी तीनवटा फिल्म हल सञ्चालनमा थिए ।

त्यस्तै दमकमा पाथीभरा, दमक चलचित्र मन्दिर र डिम्याक्स गरी तीनवटा फिल्म हल सञ्चालनमा थिए । उता धुलावारीमा तृष्णा, इँटाभट्टामा सिटी, भद्रपुरमा कृष्णराज, बुधबारेमा बुधबारे चलचित्र मन्दिर र राजगढमा एभरेष्ट डिजिटल सिनेमा हल गरी ११ वटा फिल्म हल सञ्चालनमा थिए ।

नेपालभर २ सयवटा चलचित्र हल छन् । ती हलले दैनिक न्यूनतम् एक करोड ५० लाखदेखि ३ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरे पनि अहिले कोरोना भाइरसका कारण कारोबार ठप्प हुँदा चलचित्र क्षेत्रमा गरिएको अर्बौं रुपैयाँ जोखिममा परेको बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झण्डै देशभर ८ हजारभन्दा बढी हलमा काम गर्ने कर्मचारी अहिले बेरोजगार छन् । चलचित्र क्षेत्रमा लगानी गर्नेको अवस्था उस्तै छ, यस विषयमा राज्यले ध्यान दिएको छैन ।’ विर्तामोडस्थित क्युएफएक्स हल सञ्चालक पोखरेल भन्छन्, सरकारले फिल्म हल चलाऊ भन्ने आदेश कहिले दिन्छ, त्यसैको पर्खाइमा छौं । आदेश आए हल सञ्चालन गर्ने थियौं । सबै क्षेत्र प्रायः खुलेका छन् अनि फिल्म हलमात्रै किन बन्द गर्नु प¥यो ? सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर हामी हल सञ्चालन गर्न तयार छौं ।’

देशभर सञ्चालनमा रहेका २ सय सिनेमा हलमध्ये ६० प्रतिशत सिंगल हल र ४० प्रतिशत मल्टिप्लेक्स छन् । सिंगलहरू अपग्रेड गर्न पनि पछिल्लो समयमा ठूलो लगानी भएको छ । एउटा हलमा ३ करोडदेखि ८ करोडसम्म लगानी भएको अनुमान छ । औसतमा एउटा हलमा ५ करोड रुपैयाँ खर्च लागेको मान्दा यो व्यवसायमा १० अर्बभन्दा बढीको लगानी भएको अनुमान छ । त्यसमध्ये करिब ७० प्रतिशत बैंकको ऋण भएको ३० प्रतिशतले मात्रै आफंै खर्च गरेका छन् । फिल्म हल सञ्चालनका लागि करोडौं रुपैयाँ लागे पनि यो व्यवसायमा अहिले आम्दानी भने शून्य रहेको नेपाल चलचित्र संघका पूर्वकेन्द्रीय उपमहासचिव पोखरेल बताउँनुहुन्छ ।

साउदी अरबको विश्व प्रशिद्ध लुलु हाइपर कम्पनीमा जनरल म्यानेजरको पदमा रहेर काम गरिरहेका राजगढका चान महमद स्वदेश फर्किएलगत्तै लामो समयदेखि बन्द रहेको राजगढ चलचित्र हल खरिद गर्दै नयाँ व्यवस्थापनमा सञ्चालन गर्न जुट्नुभएको थियो । तर, उहाँ पनि अहिले निराश छन् । आफूले लगानी गरेको व्यवसाय लामो समयदेखि बन्द भएपछि उनी अहिले चलचित्र हल सञ्चालनका लागि सरकारको आदेश कुर्दै अर्कै व्यवसायमा केन्द्रित भएका छन् ।

यातायात, होटल, रेष्टुरेन्ट, बैंक, उद्योग लगायत सबै क्षेत्र खुले पनि फिल्म हल नखुल्नु दुःखद् पक्ष भएको बताउँदै आफूले अहिले राजगढमा एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले भन्नुभएको छ, हलमा काम गर्न सबै कर्मचारी बेरोजगार भए उनीहरूलाई रोजगारी दिनु मेरो कर्तव्य हो, कोरोनाका कारण फिल्म हल बन्द भएपछि रातारात राजगढमा एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएको हुँ । यहाँ हलका स्टाफसहित ३५ जनाभन्दा बढीले अहिले रोजगारी पाएका छन् ।

कोरोना महामारीकै कारण झण्डै ६ महिना लामो अवरोधपछि जीवन लयमा फर्किँदैछ । सार्वजनिक क्षेत्र पुनः विस्तारै सञ्चालनमा आउन थालेपछि बजारमा चहलपहल सुरु भएको छ । धेरैजसो व्यवसाय चलमलाउँदा पनि फिल्म क्षेत्र भने अझै सुनसान छ । मनोरञ्जन दिन सरकारी मापदण्ड अनुरूप फिल्म हल चल्नुपर्ने भएकाले फिल्म क्षेत्रको रमझम फेरि कहिलेदेखि सुरु होला भन्ने चौतर्फी जिज्ञासा छ । तर, सरकारले भने फिल्म हल सञ्चालनका लागि अनुमति दिएको छैन । मान्छेको भीडभाडै हुने धेरै ठाउँको निषेध फुकुवा भए पनि फिल्म क्षेत्र ठप्प रहँदा यसमा आबद्ध कलाकार, व्यवसायी, कामदार मारमा परेका छन् नै प्राविधिकदेखि हल व्यवसायसँग जोडिने अन्य व्यवसाय पनि धरापमा परेको हल सञ्चालको भनाइ छ ।

यता हल सञ्चालकहरू भने सरकारले हल खुलाउने अनुमति नदिए पनि हल खुलाउने तयारीमा छन् । कोरोना भाइरसको प्रकोप कहिलेसम्म रहिरहने हो, कुनै टुंगो नभएकाले उनीहरू स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै हल सञ्चालन गर्ने तयारीमा पुगेका हुन् । नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने घोषणा गरेको छ । कोरोना जोखिमका कारण बन्द गरिएका हल ९ महिना बितिसक्दा पनि सरकारले खोल्ने कुनै निर्णय नगरेपछि संघमा आबद्ध हल सञ्चालकले हल खोल्ने स्वघोषणा गरेका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै सरकारसँग ९ सूत्रीय माग राख्दै सरकारले अब अनुमति नदिए पनि पुस १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया